झापा
झापामा वन डढेलो विरुद्धको सचेतना अभियान सुरु भएको छ । वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट सचेतना अभियानको सप्ताह कार्यक्रम सुरु भएको हो ।

_1751853734.jpg)
डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो । अभियानको उद्घाटन आज बिहिबार एक कार्यक्रमकाबिच झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बांस्तोलाले गरेका हुन् ।

_1736908732.jpg)
उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बांस्तोलाले सरकारको सम्पत्तिको रूपमा रहेको वन क्षेत्रमा पुराना रुख र नयाँ बिरुवाको संरक्षण गर्ने प्रमुख दायित्व स्थानीय वन उपभोक्ता तथा स्थानीय सरोकारवालाको भएको उल्लेख गर्दै उनले वातावरण परिवर्तन हुनबाट जोगाउन शून्य आग्रह गरे ।
डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौंँ, वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौँ, वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता प्ले कार्डसहित मेचीनगरस्थित प्रगति सामुदायिक बनबाट सुरु गरिएको सचेतना ¥याली चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।

सभामा डिभजन वन कार्यालयका झापाका प्रमुख मेघराज राईले कार्यपत्र प्रस्तुत गर्दै हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रूपमा मनाइँदै आएको जानकारी दिए । उनले वन डढेलो नियन्त्रणमा वन उपभोक्ता समूह संगै सबैको भूमिका रहने बताए ।
उद्धघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बांस्तोला, डिभिजन कार्यालयका प्रमुख राई, हातेमालो सामुदायिक वनका अध्यक्ष चन्द्रप्रसाद सिग्देल, चारआली जेसीजका अध्यक्ष भोजराज पराजुली, लायन्स क्लब अफ चारआलीका अध्यक्ष जगनाथ भट्टराई लगायतले बन क्षेत्रमा हुने डढेलोले पु¥याउने क्षतिका विषयमा बोलेका थिए ।
डिभिजन वन कार्यालय झापाका वन अधिकृत देबेन्द्र उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन डिभिजन वन कार्यालयका फोरेष्टर डिल्लीराम खरेलले गरेका थिए । कार्यक्रममा झापा प्रहरी प्रमुख एसपी मिलन के.सी., अरीदमन गण चारआलीका प्रमुख सेनानी, प्राजु बस्न्यात सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
फोरेष्टर डिल्लीराम खरेलका अनुसार साताव्यापी सञ्चालन हुने अभियानको दोस्रो दिन भोली कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गामा नियन्त्रीत डढेलो लगाउने र डढेलो नियन्त्रणमा लिने अभियान सञ्चालन गरिने त्यस्तै ४ गते जलथल सव डिभिजन वन कार्यालयमा डढेलो नियन्त्रण तथा व्यवस्थापन तालिम सहितका साता ब्यापी अभियान सञ्चालन गरिने छ ।