विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी ) ईश्वर कार्कीले पदभार ग्रहण गरेका छन् ।
नेपाल सरकार गृह मन्त्रालय मन्त्रिस्तरको यही वैशाख २२ गतेको निर्णयानुसार कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा भएका डीआईजी कार्कीले कार्यालयमा हाजिर भई आज आईतवारबाट कार्यभार सम्हालेका हुन् ।

नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाएका कार्की २०८१ साल पौसमा डिआइजीमा बढुवा भएका थिए। उनले यसअघि महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् ।

_1736908732.jpg)
विशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो अनुभव र ज्ञान हासिल गरेका डीआइजी कार्कीले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको सफल नेतृत्व गरि सकेका छन् ।

यस अघि प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, नक्सालमा कार्यरत डीआईजी कार्की कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएर आएका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा हाजिर भए पश्चात डीआइजी कार्कीले आफ्नो मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन्।