बिर्तामोड नगरपालिका वडा नं ९ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ ।

बिर्तामोड वडा नं। ९ खेलकुद विकास समितिको आयोजना र नगर  खेलकुद विकास समितिको सह आयोजनामा आगामी जेठ ३ र ४ गते दुर्गा माविको खेल मैदान प्रतियोगिता आयोजन हुने भएको हो ।

प्रतियोगितामा बिर्तामोड नगरपालिकाका १ देखि १० सम्मका वडाका टिमको सहभागिता रहने छ । आज वडा कार्यालयमा आयोजित पत्रकार भेटघाटमा वडा खेलकूद विकास समितिका अध्यक्ष विश्वदीप राजवंशीले प्रतियोगिताबारे जानकारी दिनुभयो ।

वडास्तरमा रहेका खेलाडीको प्रतिभा उजागर गर्नु, युवामा खेलप्रतिको आकर्षण बढाउनु तथा खेलकुदको माध्यमबाट वडा र नगरबीच आपसी सद्भाव तथा सहकार्य विस्तार गर्नु प्रतियोगिताको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने टोलीले नगद रू ३१ हजार र द्वितीय स्थान हासिल गर्ने टोलीले नगद रू २१ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत म्यान अफ द म्याच, सर्वोत्कृष्ट सर्भर, सर्वोत्कृष्ट स्पाइकर, सर्वोत्कृष्ट ब्लकर, सर्वोत्कृष्ट सेटर लगायतका व्यक्तिगत विधागत पुरस्कारहरू पनि प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि खर्च रू ५ लाख ३२ हजार २ सय लाग्ने अनुमान गरिएको छ ।

खेलकुद विकासका लागि वडाले सक्दो प्रयास गरिरहेको वडाध्यक हरिप्रसाद चम्लागाईले बताउनुभयो । वडासँग पर्याप्त बजेट नभए पनि भएको बजेटलाई सदुपयोग गरिँदै आएको उहाँले बताउनु भयो ।

पत्रकार सम्मेलनमा बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बूले प्रतियोगिता सम्पन्न गर्न नगर खेलकुद विकास समितिले केही आर्थिक सहयोग गर्ने बताउनुभयो ।

प्रतियोगिता सफल बनाउन नगर खेलकुदले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।

वडा सचिव सुवास बिकले भलिबल प्रतियोगिताका लागि वडाले रू २ लाख बजेट विनियोजन गरेर सम्झौता समेत गरिसकेको बताउनुभयो । प्रतियोगिताको प्रविधिक पक्षका विषयमा अफिसियल रेफ्री नविन रिजालले प्रष्ट पार्नुभएको थियो ।

प्रतियोगिताका लागि मुख्य प्रायोजकको लागि रू २ लाख ५० हजार, सह प्रायोजकको लागि रू १ लाख ५० हजार, प्रायोजकको लागि रू ५० हजार र सपोर्टरको रुपमा रू २५ हजारसम्म लिइएको पत्रकार भेटघाटमा जानकारी दिइयो ।

पत्रकार भेटघाटको सहजीकरण पत्रकार अच्युत सुवेदीले गर्नुभएको थियो