काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि सोमवार विहान मतदान हुने भएको छ । आइतवार रातिसम्म उम्मेदवारी मनोनयन सकिएको छ ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले प्यानलसहित प्रतिस्पर्धा गर्ने भएका छन् । थेबे र पुरी दुवैको तर्फबाट पदाधिकारीको प्यानल सार्वजनिक भएको छ भने अन्य पदका पनि प्यानलगत प्रतिस्पर्धी तयार छन् ।

पुरीको टीमबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतमको उम्मेदवारी परेको छ भने महासचिवमा कुबेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा उम्मेदवार छन् ।

त्यस्तै सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी परेको छ भने महिला सचिवमा रेशु तामाङ र मधेशीतर्फ चितरन्जन यादवले उम्मेदवारी दिएका छन् ।

पुरीको प्यानलबाट आयोग अध्यक्षतर्फ निर्वाचन आयोगमा शिव रिमाल,लेखा आयोगमा विक्रम गुरुङ, अनुसशान आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषदको अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषको उम्मेदवारी परेको छ ।

सुमन पुरीले आफूलाई अध्यक्ष केपी शर्मा ओलीकै चाहनाको उम्मेदवार बताएका छन् । कोही एकजना पार्टीको र अर्को फरक उम्मेदवार नभएको भन्दै उनले संगठनमा गरेको योगदान र न्यायको लागि आफू प्रतिस्पर्धामा उत्रिएका बताएका छन् ।

उनलाई निवर्तमान उपाध्यक्ष अमित लामाले साथ दिएका छन् भने अध्यक्षका दाबेदार प्रकाश गौतम उनको टिमको उपाध्यक्षमा सेट भएका छन् ।

nepalpress.com