झापा, २७ जेठ । “पढ्न मन लाग्छ, स्कूल जान मन लाग्छ”, बिर्तामोड–३ की ७ वर्षीया बालिका अनिषाले भन्नुभयो, “बेला–बेलामा आमाले अह्राउनुभएको काम गर्छु ।” विद्यालय उमेरकी सात वर्षीया बालिका अनिषाकी आमा अनुता राई ९मगर० पक्षघातका कारण कम्मरमुनिको भाग नचल्ने भएर ओछ्यानमै थलिएकी छन् । 

आर्थिक अवस्था कमजोर भएका अनुताको परिवार हाल कष्टकर दैनिकी बिताइरहेको छ । अर्जुनधारा नगरपालिका–३ घर भई हाल बिर्तामोड–३ स्थित यातायात कार्यालय छेउमा बस्दै आएकी ३५ वर्षीया अनुताको करिब एक वर्षदेखि ओछ्यानमै दिन बितिरहेको छ ।

ह्वील चियरको सहायताले छोरा १५ वर्षीय समीर मगरले अनुताको हेरचाह गर्दै आएका छन् । शुरुमा सामान्य खुट्टा दुख्ने समस्या भएपछि बिर्तामोड नगर अस्पतालबाट उनले उपचार शुरु गरेकी थिइन् । थप उपचार गर्न बिर्तामोडको बिएण्डसी अस्पतालमा गएकी उनले एमआरआई मात्र गराइन् । 

डाक्टरले अस्पलतामै बसेर उपचार गराउनुपर्ने बताए पछि आर्थिक अभावका कारण उनी घरै फर्किइन् । बिस्तारै रोगले च्याप्दै गएपछि उनी ओछ्यान परेकी हुन् । 

दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएकी उनी थलिएपछि उनका छोरा १५ वर्षीय समिर विद्यालय जान सकेका छैनन् । आर्थिक अभावसँगै आमालाई स्याहार गर्नुपर्ने जिम्मेवारी थपिएपछि उनी कलिलो उमेरमै शिक्षाबाट बञ्चितसमेत बनेका छन् । अनुताकी फुपू गंगीमाया राईले उनको परिवारलाई सकेको सहयोग गर्दै आएकी छन् । 

उनी मात्र होइन, अनुताको ७ वर्षीया छोरी अनिषाले विद्यालय कस्तो हुन्छ भन्ने देख्न पाएकी छैनन् । “स्कूल जान मन लाग्छ, पढ्न मन लाग्छ”, अवोध बालिका अनिषाले भनिन्, “बेला–बेलामा आमाले अह्राएको काम गर्छु ।”

अनुताको श्रीमान बस चालक हुन् । “श्रीमानले कमाएको पैसाले घरव्यवहार गर्दैै ठिक्क हुन्छ”, अनुताले भनिन्, “उपचार पाए निको हुने थिएँ, निको भएपछि काम गरेर छोराछोरी पढाउने थिएँ ।” उनले आफ्नो उपचारका लागि सहयोगी संघ–संस्था, दाता, मनकारी महानुभावसँग अपिल गरेकी छन् । 

सहयोगी महानुभावहरुले अनुता राईको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि।मा रहेको खाता नं। ०१८०५०८०३६२९७९ मा आर्थिक सहयोग गर्न सकिनेछ

 ।