अर्जुनधारा : अर्जुनधारा नगरपालिकाको एक महत्वपूर्ण र बहुप्रतिक्षित सडक आयोजनाले गति लिएको छ । धुलो र हिलोले सास्ती भोग्दै आएका स्थानीयवासीमा खुसी छर्दै महानन्द चौकदेखि माता मन्दिर हुँदै प्रमाणी मन्दिरसम्म पुग्ने सडक कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अघि बढेको छ ।

संघीय सरकारको समपुरक अनुदान अन्तर्गत कुल ५ करोड २० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको २२ सय मिटर लामो सडकखण्डमध्ये १२ सय मिटरमा आइतबार एकैदिन कालोपत्रे सम्पन्न भएको छ ।

प्रगतिशील सिद्धार्थ अम्बिका जेभीले निर्माणको जिम्मा पाएको यस आयोजनाको गुणस्तर सुनिश्चित गर्न नगर प्रमुख बलदेव गोम्देन आफैं दिनरात नभनी फिल्डमा खटिरहेका छन् ।

सडक निर्माणको प्राविधिक पक्षमा समेत दख्खल राख्ने नगर प्रमुख गोम्देनले कामको प्रत्यक्ष निगरानी गर्दै निर्माण कम्पनीलाई आवश्यक निर्देशन दिइरहेका छन् ।

WhatsApp Image 2025-06-16 at 08.08.52

‘जनताको हरेक पसिनाको हिसाब करमा जोडिएको हुन्छ, त्यसैले विकास आयोजनाहरू गुणस्तरीय र दिगो हुनैपर्छ’, नगर प्रमुख गोम्देनले भने, ‘गुणस्तरमा कुनै पनि सम्झौता नगर्न र तोकिएको मापदण्ड अनुसार काम सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ । यसका लागि म आफैँ निरन्तर अनुगमनमा छु ।’

नगरपालिकाका इन्जिनियर निरज अधिकारीका अनुसार, यो सडक निर्माणले स्थानीयको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ ।

यो सडक कालोपत्रे भएसँगै स्थानीयलाई सहजरूपमा बजार पहुँच, कृषि उपजको ढुवानी र धार्मिक पर्यटकीयस्थल प्रणामी मन्दिरसम्मको यात्रा सहज हुने भएको छ ।

वर्षौंदेखिको सपना पूरा हुन लागेको भन्दै स्थानीयवासीले नगरको विकास प्रयासको प्रशंसा गरेका छन् ।