झापाको बिर्तामोड ४ स्थित भद्रपुररोडमा मुख्य कार्यालय रहेको बिर्तामोड एजुकेशन फाउण्डेशनले यस बर्ष पनि विपन्न ४० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने घोषणा गरेको छ ।
शैक्षिक परामर्श केन्द्रको भरपर्दो र विश्वाशिलो बनिरहेको ‘बिर्तामोड एजुकेशन फाउण्डेसन प्रालि’ ले स्थापनाको आठौं वर्ष पूरा गरी नौं वर्षमा प्रवेश गरेको अवसरमा ४० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने जनाएको हो ।

आर्थिक अवस्थाकै कारण प्रविधिको वर्तमान युगमा कोही पनि शिक्षा पाउन बन्चित हुनु नपरोस् भन्ने उद्देश्यले यस बर्ष पनि
वीरता जेसीज बिर्तामोडको सहकार्यमा ४० जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा तालिम प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष राज कार्की बताउंछन् ।

_1736908732.jpg)
बिर्तामोड एजुकेशनले बिगतका केहि बर्षदेखि जेसिजसंगको सहकार्यमा निशुल्क कम्प्युटर तालिम प्रदान गर्दै आएको छ । सामाजिक उत्तर दायित्व वहन गर्दै संस्थाले यस बर्ष पनि जेसिजसंगको सहकार्यमा निरन्तरता दिंदै तालिमको आयोजना गरिएको अध्यक्ष कार्कीको भनाई छ ।
छनोटमा परेका विद्यार्थीहरूले कम्प्युटरका आधारभूत ज्ञानदेखि व्यावसायिक सीपसम्मका विभिन्न पाठ्यक्रमहरू निःशुल्क सिकाइने बिरता जेसिजका अध्यक्ष युवराज कुँवरले बताए । जेसीजले तालिमका लागि ४० जना बिद्यार्थी छनौट गरे पश्चात उनीहरुलाई कम्प्युटर शिक्षा सम्बन्धि ३ महिने निशुल्क तालिम प्रदान गरिने बताइएको छ ।

अध्यक्ष कुवंरका अनुसार तालिम लिन चाहने इच्छुक विद्यार्थीले असार २० गतेभित्र वीरता जेसीजको सचिवालय, बिर्तामोड–१ मा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् । आवेदन फारम कार्यालयबाट निःशुल्क उपलब्ध गराइने समेत उनले बताए ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श तथा अध्यापन गराउने उद्देश्यले २०७३ साल फागुन २४ गते बिर्तामोड एजुकेशन फाउण्डेसनको स्थापना भएको थियो ।
फाउण्डेशनका अध्यक्ष कार्कीका अनुसार इलाम बजार , फिक्कल, झापाको बुद्धशान्ति बुधबारेमा , धुलाबारी र सुरुङ्गामा रहेको फाउण्डेशनको शाखा कार्यालयबाट विद्यार्थीलाई शैक्षिक परामर्श सहित बिभिन्न तालिम, भाषा कक्षा लगयतका सुविधा प्रदान गरिंदै आइएको छ ।