झापामा सचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८२ सुरु गरिएको छ । दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउन आज शुक्रबारदेखि एक हप्तासम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन लागिएको हो ।
सप्ताहको पहिलो दिन आज बिहान विभिन्न झाँकी, नौमति बाजा, प्ले काड सहित बिभिन्न संघ संस्था, विद्यार्थी, सुरक्षाकर्मी लगायतको सहभागीतामा बिर्तामोड बजार क्षेत्रमा प्रभातफेरी गरिएको छ ।

मुक्तिचोकबाट सुरु भएको प्रभातफेरी इलाम स्टेण्ड हुंदै धर्मकांटा स्थित सिटी सेन्टरमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
जिल्लामा सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि सप्ताह मनाउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।

_1736908732.jpg)
सप्ताहलाई यात्रु, चालक, र प्रहरीबिचको सम्बन्धलाई नजिक बनाउने, सडक यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित गरिएको कार्यालय प्रमुख पौडेलको भनाइ छ ।

बिर्तामोड नगरप्रमुख पवित्रा महत्तरा प्रसाईको प्रमुख आतिथ्यता र झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहित औचित्यमाथि प्रकाश जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बुले पारेका थिए । कार्यक्रमको सञ्चालन झापा ट्राफिक प्रहरी प्रमुख गणेश पौडेलले गरेका थिए ।
ट्राफिक सप्ताह अन्तरगत लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्ने नियमको कार्यान्वयनको अनुगमन गर्ने, सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस गर्ने, सर्वसाधारण र सरोकारवालालाई ट्राफिक सचेतना फैलाउने, पर्चा वितरण गर्ने, माइकिङ गर्ने, सवारी साधनको भाडा अनुगमन गर्ने, यात्रु आरक्षण सिटको कार्यान्वयनबारे अनुगमन गर्ने, सडक प्रयोग सम्बन्धी चालक, यात्रु र सर्वसाधारणलाई प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।