झापा

आर्थिक अभावका कारण विद्यालय जान बाट बन्चित एक बालिकालाई बिर्तामोड २ स्थित निदि माध्यमिक विद्यालयले निशुल्क पढाई दिने भएको छ । 

 आमा पक्षघातले ओछ्यानमा, छोरीछोरी विद्यालयबाट बञ्चित शिर्षकमा गत जेठ २७ गते साझा अनलाइन न्युज डटकम सहित केहि सञ्चार माध्यममा समाचार सम्प्रेषण भएको थियो । 

सोहि समाचार पढे पश्चात निदि विद्यालयले बालिकालाई पढाई दिने घोषणा गरेको हो । “पढ्न मन लाग्छ, स्कूल जान मन लाग्छ”, बिर्तामोड–३ की ७ वर्षीया बालिका अनिषा मगरले हामीसंग भनेकी थिइन । तर उनको रहर अब भने पुरा भएको छ । 

सात बर्षिय बालिका अनिषाकी आमा अनुता राई (मगर) पक्षघातका कारण कम्मरमुनिको भाग नचल्ने भएर एक बर्षदेखि ओछ्यानमै थलिएकी छन् । उनको दयनिय अवस्थाको बारेमा समाचार सम्प्रेषण पश्चात आज निदि क्यामपसका प्रिन्सिपल रंजित शाहले सात बर्षिय बालिका अनिषालाई कक्षा १० सम्म निशुल्क पढाई दिने घोषणा गरेका हुन् । अनुताको डेरामै पुगेर शाहले सामाजिक उत्तर दायित्व वहन गर्दै पढाउने बताए । 

बिर्तामोड ३ का वडा सदस्य हरी बांस्कोटा, बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेल र स्थानीय पनि निदि विद्यालयलाई धन्यवाद ब्यक्त गरेका थिए । साथै बिरामी अनुताको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । त्यस्तै उनलाई स्थानीय ब्यवसायी तथा सामाजिक अगुवा मुकेश भट्टराई र हरी बांस्कोटाले आर्थिक सहयोग समेत गरेका छन् । साथै बालिकालाई आवश्य पोशाक न्युटन्स एजुकेशनका प्रिन्सिपल देबेन्द्र हुमागांईले उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

आर्थिक अवस्था कमजोर भएका अनुताको परिवार हाल कष्टकर दैनिकी बिताइरहेको छ ।  अर्जुनधारा नगरपालिका–३ घर भई हाल बिर्तामोड–३ स्थित यातायात कार्यालय छेउमा बस्दै आएकी ३५ वर्षीया अनुताको करिब एक वर्षदेखि ओछ्यानमै दिन बितिरहेको छ ।

ह्वील चियरको सहायताले छोरा १५ वर्षीय समीर मगरले अनुताको हेरचाह गर्दै आएका छन् । शुरुमा सामान्य खुट्टा दुख्ने समस्या भएपछि बिर्तामोड नगर अस्पतालबाट उनले उपचार शुरु गरेकी थिइन् । थप उपचार गर्न बिर्तामोडको बिएण्डसी अस्पतालमा गएकी उनले एमआरआई मात्र गराइन् । 

डाक्टरले अस्पलतामै बसेर उपचार गराउनुपर्ने बताए पछि आर्थिक अभावका कारण उनी घरै फर्किइन् । बिस्तारै रोगले च्याप्दै गएपछि उनी ओछ्यान परेकी हुन् । 

दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएकी उनी थलिएपछि उनका छोरा १५ वर्षीय समिर विद्यालय जान सकेका छैनन् । आर्थिक अभावसँगै आमालाई स्याहार गर्नुपर्ने जिम्मेवारी थपिएपछि उनी कलिलो उमेरमै शिक्षाबाट बञ्चितसमेत बनेका छन् । 

अनुताको श्रीमान बस चालक हुन् । “श्रीमानले कमाएको पैसाले घरव्यवहार गर्दैै ठिक्क हुन्छ”, अनुताले भनिन्, “छोरीले पढ्न पाउने भइन, खुसी छु म अब उपचार पाए निको हुने थिएँ, । 

उनले आफ्नो उपचारका लागि सहयोगी संघ–संस्था, दाता, मनकारी महानुभावसँग अपिल गरेकी छन् । 

सहयोगी महानुभावहरुले अनुता राईको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि।मा रहेको खाता नं। ०१८०५०८०३६२९७९ मा आर्थिक सहयोग गर्न सकिनेछ