झापा । झापाको अर्जुनधारा नगरपालिकाले पहिलोपटक साहित्यकार कृष्ण बराललाई एक लाख, एक हजार राशिको पुरस्कर समर्पण गरेको छ । नगरपालिकामा शुक्रबार आयोजित साहित्यिक कार्यक्रमका बीच भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समितिले बराललाई सो पुरस्कर समर्पण गरेको हो। पालिका भित्रका साहित्यकारलाई यति ठूलो राशिको पुरस्कार समर्पण गर्ने अर्जुनधारा देशकै पहिलो नगरपालिका हो ।

दीर्घ साहित्य सेवा गर्ने व्यक्तिको योगदानलाई सम्मान गर्न भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समिति गठन गरेर नगरपालिकाले काम गरिरहेको नगर प्रमुख बलदेवसिंह गोम्देनले बताए । उनले भने ‘पुरस्कर स्थापना गर्ने र पुरस्कृत गर्ने काम नौलो होइन, अर्जुनधाराले आफूले स्थापना गरेको आफ्नै पालिकाका साहित्यारलाई समर्पण गर्ने नयाँ कामको थालनी गरेका छौँ ।’ उनले यो सम्मान प्रत्येक वर्ष पालिका भित्रकै स्रष्टालाई समर्पण गरिने बताए।
नगर उपप्रमुख खड्गमाया पराजुली संयोजक र साहित्यकार कुमार भट्टराई सदस्य रहेको स्रष्टा छनोट समितिले बराललाई छनोट गरेको हो । प्रमुख अतिथि साहित्यकार पुण्य खरेल, नगर प्रमुख गोम्देन, उपप्रमुख पराजुलीले सो पुरस्कर साहित्यकार बराललाई संयुक्त रूपमा समर्पण गरेका हुन् ।

_1736908732.jpg)
बरालले पद्मश्री पुरस्कार प्राप्त गरिसकेका साहित्यकार हुन् । उनको ‘समय हराएको बेला’ पद्मश्री पाएको कृति हो। बेनामे कृति प्रकाशन गर्ने बराल मुलुककै पहिलो साहित्यकार हुन् । अरामायण साहित्यकार बरालको बेनामे कृति हो । निबन्ध लेखनमा गहिरो दखल राख्नु हुने बरालका तीन पिँढी एउटा सिँढी, लीलावार्ता र शरणार्थी, कथा च्यातिएका, अवतरण र नाति पुस्ताको खेल नामक कृति प्रकाशित छन् ।
कार्यक्रममा नगर विकासमा साहित्यको भूमिका विषयमा समूह अन्तर सम्वाद भएको थियो। दिपीन राईले सहजीकरण गरेको समूह अन्तर सम्वादमा प्रकाश थाम्सुहाङ, गणेश निरौला र मिश्र वैजयन्ती सहभागी थिए । प्राज्ञ मुनाराज शेर्मा, स्थापित गजलकार केशव आचार्य, विवश बलिभद्र कोइरालादेखि नवोदित गजलकार दीपक ढुंगाना लगायत १५ जना साहित्यकारले आ–आफ्नो सिर्जना सुनाएका थिए ।

कार्यक्रमका वक्ताले साहित्यले कल्पना, सिर्जनशीलता, नैतिकता र कर्तव्यबोध गराउने बताए । मानिसले कर्तव्य भुल्नु हुन्न भन्ने शिक्षा साहित्यले दिने बताएका उनीहरूले नागरिक चेतना फैलाउने र आत्मजागरणको काम साहित्यले गर्ने बताए ।
मदन पुरस्कर विहेता कृष्ण धरावासी लगायत नाम चलेका थुप्रै साहित्यकारको सिर्जनशीलथलो शनिश्चरे साहित्यका विद्यार्थीका लागि तीर्थस्थल र चेतनास्थल बताएका उनीहरूले अर्जुनधारा आफ्नै प्रतीभालाई चिनेर सम्मान गर्ने पहिलो पालिकाका भएको भन्दै प्रशंसा गरेका थिए ।