दुई वर्षअघि देशभर गाईभैंसीमा महामारीझैं फैलिएको लम्पी स्किन रोग अहिले फेरि झापामा देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका अनुसार झापाको मेची नगरपालिकाका केही गाउँमा लम्पी रोग देखिएको हो ।

प्रारम्भिक अध्ययनमा खोप नलगाइएका गाइभैंसीमा रोग देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाले जनाएको छ ।

नेपालमा पहिलो पटक २०७७ असारमा मोरङ जिल्लामा लम्पी देखिएको थियो । २०७७ र २०७८ मा १६ जिल्लाका २९ पालिकामा फैलिएको रोगबाट ३ हजार ३ सय १ पशु संक्रमित भएका थिए भने १३ पशु मरेका थिए । सरकारले नियन्त्रणमा चासो नदिँदा २०७९ चैतमा फेरि देखापरेको थियो ।

२०७९ चैतमा कोशी प्रदेशबाट महामारीका रूपमा फैलिएको रोगबाट १५ लाख ३६ हजार पशु संक्रमित भएका थिए ।

कोशी प्रदेशको मोरङ जिल्लाबाट  सुरु भएको रोग ७७ जिल्लामै पुष्टि भएको थियो । ७ महिनामा ६५ हजार ४ सय ४१ पशु मरेका थिए । धान रोपाइँकै मुखमा किसानको पशु मर्दा रोपाइँमा असर गरेको थियो । लम्पीकै कारण धान रोपाइँसमेत ढिलाइ भएको किसानले बताएका थिए ।

रोग नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको सरकारबाट सबै किसानले राहत पनि पाएनन् । बिमा कम्पनीबाट क्षतिपूर्ति पाउन नसकेका उनीहरूले सरकारले महामारी घोषणा गरे पनि राहत पाउन नसकेको बताएका छन् ।

विज्ञ केन्द्रका  अनुसार लम्पी स्किन गाई  भैंसीमा विषाणुबाट लाग्ने संक्रामक रोग हो । गर्मीयाममा तीव्र रूपमा फैलिन्छ । यो रोग लामखुट्टे, झिंगा, किर्ना, भुसुनालगायतको टोकाइबाट सर्छ ।

संक्रमित पशुसँग प्रत्यक्ष सम्पर्कमा आएका अन्य पशुमा समेत रोग सर्छ । छोटो समयमा सर्ने हुँदा नियन्त्रण गर्न पहिलो प्राथमिकता गोठको सफाइ जरुरी रहेको पशु चिकित्सक डा। सिताराम यादवले बताएका छन । रोगको शंका लागेका पशुलाई बथानबाट छुट्याएर अलग्गै राख्नुपर्ने डा। यादवको भनाइ छ ।

पशु चिकित्सक सिताराम यादवका अनुसार   ‘यो रोग गर्मीमा बढी सक्रिय हुने भएकाले फेरि देखियो । तीव्र रूपमा फैलिए फेरि अर्बौं रुपैयाँको नोक्सानी हुन्छ, ‘रोग नियन्त्रण गर्न सरकारले व्यापक तयारी गर्नुपर्छ । पहिलो प्राथमिकता खोप नै हो ।’ मुलुकभित्र रहेका गाईभैंसीमध्ये कम्तीमा ८० प्रतिशतलाई खोप लगाउनुपर्ने डा यादवले बताएका छन ।