बिर्तामोड । वरिष्ठ रेडियोलोजिष्ट डा. सञ्जयकुमार गुप्ता मेची प्रदेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त भएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामबाबु खड्काको ११औं तहमा बढुवा भएसंगै वरिष्ठ कन्सल्टेन्ट दशौं तह डा. गुप्तालाई मेसुको जिम्मेवारी प्रदान गरिएको हो ।
प्रदेश निजामती सेवा ऐन २०७९ को दफा २३ को उपदफा ६ बमोजिम डा। गुप्तालाई कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालय विराटनगरले अस्पतालको मेसुको जिम्मेवारी दिएको हो ।

तत्कालीन मेची अञ्चल अस्पतालमा २०६८ साल असोज १ गतेबाट रेडियोलोजिष्टको जिम्मेवारी सम्हाल्दै आएका उनी डा। खड्काको गत वैशाखमा एघारौँ तहमा बढुवा भएसंगै निमित्त मेसु थिए ।
२०६८ सालमा मेची अञ्चल अस्पताल विकास समितिबाट मेडिकल अफिसरको रुपमा अस्पतालमा नियुक्त भएका उनी २०७३ सालदेखि वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्टको नवौं तहमा स्थायी भएका थिए ।

_1736908732.jpg)
२०७५ साल असोज १२ गतेदेखि वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्टको दशौं तहमा वढुवा भएका उनले भारतको मणिपाल मेडिकल कलेजबाट सन २०११ मा रेडियोलोजीमा एमडी गरेका थिए ।
मेची प्रादेशिक अस्पतालमा काम गर्नु अघि उनले मेडिकेयर अस्पताल र एनएमसी मेडिकल कलेजमा समेत काम गरेका थिए ।
