अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ९५ करोड नौ लाख २१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको सभाहलमा आज नगरसभाको १७ औं नियमित अधिवेशनमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजििनक गरेको हो । नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप–प्रमुख खड्गमाया पराजुलीले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।

नीति तथा कार्यक्रममा नगरका बहुवर्षीय योजनालाई निरन्तरता दिँदै भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सडक, उद्योग, खेलकुद, पर्यटन, वन वातावरण तथा विपद व्यवस्थापन लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।

नगरले पूर्वाधार विकास सम्बन्धी आयोजनाका लागि रु १४ करोड ११ लाख, वडास्तरीय कार्यक्रमका लागि रु ९ करोड ९० लाख, सामाजिक विकास सम्बन्धी कार्यक्रमका लागि रु ५ करोड ७९ लाख, आर्थिक विकास सम्बन्धी कार्यक्रमका लागि रु ३ करोड ५३ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि रु २ करोड ६० लाख, संस्थागत विकास तथा सुशासन सम्बन्धी कार्यक्रमहरुका लागि रु १ करोड ५० लाख, वित्तीय व्यवस्थाका लागि रु २५ लाख तथा नगरपालिकाको प्रशासनिक खर्च व्यवस्थाका लागि रु १४ करोड ७८ लाख विनियोजन गरेको छ ।

नगरले बजेटको श्रोत व्यवस्थापनका लागि सरकारको वित्तीय समानिकरण अनुदान रू १६ करोड ८७ लाख, राजश्व बाँडफाँड बापत रु १३ करोड ९४ लाख, सशर्त अनुदान रु ३२ करोड ९५ लाख, विशेष अनुदान रु १ करोड १ लाख, समपुरक अनुदान रु ३ करोड १४ लाख प्राप्त गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, कोशी प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान रू १ करोड ५९ लाख १४ हजार, राजश्व बाँडफाँड बापत रु १ करोड ५४ लाख ९९ हजार, सशर्त अनुदान रु २ करोड ४३ लाख २१ हजार, समपुरक अनुदान रु ६० लाख प्राप्त गर्ने अनुमान गरिएको छ।

IMG-20250624-WA0015

यस्तै, नगरपालिकाको आन्तरिक कर तथा राजश्व संकलनबाट रु ८ करोड, स्थानीय राजश्व बाँडफाँडबापत रु ७ करोड ५० लाख, जनसहभागिता बापत रु २ करोड ५० लाख तथा नगद मौज्दात रु ३ करोड ८७ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीलचन रिमाल, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।