बिर्तामोड । बिर्तामोड क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई बालबालिकामाथि हुने हिंसा नियन्त्रणमा विद्यालयको भूमिका र कानूनी परामर्श सम्बन्धी एकदिवशीय अभिमुखिकरण प्रदान गरिएको छ ।

आज बिर्तामोड नगरपालिकाको सभाहलमा बिर्तामोड नगर क्षेत्र भित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ४० जना भन्दा बढीलाई एक दिवशीय अभिमुखिकरण प्रदान गरिएको हो । 

कार्यक्रममा बालबालिका माथि कहाँ, कसरी र कोबाट हिंसा हुन्छ, बालबालिका माथि हुने हिंसा नियन्त्रणका लागि विद्यमान कानून एवं संरचना के छ साथै विद्यालयमा बालबालिका माथि हुने हिंसा नियन्त्रण गर्ने उपाय समेतका बारेमा  झापा जिल्ला अदालतका प्रशासन शाखाका शाखा अधिकृत तथा सूचना अधिकारी रामचन्द्र बस्नेत र इजलास साहयक खगेन्द्र प्रसाद भण्डारीले  प्रशिक्षण प्रदान गरेका थिए ।  

WhatsApp Image 2025-07-02 at 09.04.19 (1)

कार्यक्रमका प्रमुख अतिथी नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बालबालिका माथि हिंसा भएको देखिए नियन्त्रणका लागि विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन  समिति, नगर शिक्षा समिति एवम् बाल क्लबको ठूलो भूमिका हुने धारणा व्यक्त गरे । 

उनले विद्यालयहरु बिचमा भगिनी सम्बन्धको विकास गरी हिंसामुक्त विद्यालय बनाउनका लागि भूमिका खेल्न कार्यक्रममा सहभागी प्रधानाध्यापक र शिक्षकहरुलाई आग्रह गरे ।

विद्यालयमा तुलनात्मक रुपमा छात्रा बढी  हिंसामा परेका तथा  विद्यालयमा हिंसा बढिरहेको छ भन्ने गुनासो नगरपलिकामा आउने गरेकोले बताउँदै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बालबालिकाको अपरिपक्व र अज्ञानताका कारण अपराध नगरेपनि विद्यार्थीलाई सुधारात्मक ढङ्गले शिक्षकले व्यवहार गर्नुपर्नेमा जोड दिए ।

शिक्षा शाखा प्रमुख भण्डारीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले शुभकामना मनतब्य राखेका थिए । बिर्तामोड नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजना र  बालबालिका तथा शिक्षा संचार मञ्चको संयोजनामा कार्यक्रम भएको हो ।   

शिक्षा शाखाका अधिकृत  जानुका रेग्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन  बालबालिका तथा शिक्षा संचार मञ्चको संयोजक सरोज पौडेलले गरेका थिए ।