बिर्तामोड-झापा बिर्तामोडकाे गाेमेन्द्र बहुमुखी महाविद्यालयले यसवर्षदेखि B.Tech in AI काे कक्षा सञ्चालन गर्ने भएको छ ।‌

महाविद्यालयले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी विज्ञान तथा प्रविधि संकाय अन्तर्गत B Tech. in AI कार्यक्रम सञ्चालन गर्ने घाेषणा गरेको हाे ।

महाविद्यालयका प्राचार्य डा. रुपक खनालले आठवटा सेमेस्टरमा याे कार्यक्रम सञ्चालन हुने बताउनु भयो । ‘अहिलेकाे युग सुहाउँदो प्राविधिक शिक्षा दिने हाम्रो उद्देश्य हाे’, पत्रकार सम्मेलनमा डा. खनालले भन्नुभयो ‌।

विश्वव्यापी रुपमा फड्को मारिरहेको प्रविधिलाई आत्मसात गर्ने प्रयास गर्न लागिएको बताउँदै डा. खनालले घरको खाना खाएर विद्यार्थीले आधुनिक प्रविधिको शिक्षा प्राप्त गर्ने बताउनु भयो ।यस वर्षदेखि सञ्चालन हुने B.Tech in AI को कक्षामा जम्मा ४८ जना बिद्यार्थी भर्ना हुन सक्ने छन् ।
कम आर्थिक अवस्था भएका तर अध्ययन गर्न इच्छुक बिद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको खनालले बताउनु भयो ।
भर्ना भएका विद्यार्थीको संख्याको आधारमा १० प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।
 कलेजले सेमिस्टारमा उत्कृष्ट गर्ने एक जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिँदै आएको छ ।