झापा
दुई वर्षअघि सम्पन्न भएका योजनाको भुक्तानी नपाएको भन्दै झापा र इलामका निर्माण व्यवसायीले भौतिक पूर्वाधार विकास कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय झापामा आज ज्ञापन–पत्र बुझाएका छन् ।

_1751853734.jpg)
निर्माण व्यवसायी संघ झापाको नेतृत्वमा गएको व्यवसायीको टोलीले भुक्तानीको पहलको माग गर्दै ती कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । गत आर्थिक वर्ष २०८०÷०८१ मै काम सम्पन्न गरिएको झापा र इलामका करिब ३४ वटा योजनाको २२ करोड भुक्तानी व्यवसायीले लिन बाँकी रहेको निर्माण व्यवसायी संघ झापाको अध्यक्ष रमेश अधिकारीले जानकारी दिए ।
“सम्बन्धित निकायमा पटक–पटक आग्रह र अनुरोध गरिए पनि व्यवसायीले भुक्तानी पाएका छैनन्”, उनले भने, “आलू आर्थिक २०८२÷८३ को बजेटमा समेटेर भुक्तानी दिने आश्वासन पाए पनि बजेटमा नसमेटिँदा व्यवसायी मारमा परेका छौं ।”

_1736908732.jpg)
योजना सम्पन्न भएर भ्याट बिलसहित सम्बन्धित कार्यालयमा २०८१ असार २४ अघि नै बुझाइसकिएको संघका महासचिव पुष्पराज निरौलाले बताए । सरकारी योजनाहरुको भुक्तानीमा ढिलासुस्ती र भुक्तानी रोकिने कारणले निर्माण व्यवसायीले निर्माण सामग्री आपूर्तिकर्तालाई दिने गरेका ‘चेक वाउन्स’ भएर चेक अनादरको मुद्दामा सरकारी निकायबाटै धरपकड गरी जेल जान बाध्य भएको उनको भनाई छ ।
व्यवसायीले गरेको कामको भुक्तानी नपाउनु दुःखद् भएको संघका प्रथम उपाध्यक्ष केदार गिरीले बताए । “हामीले काम सम्पन्न गरिसकेका छौं”, उनले भने , “सम्बन्धित निकायका मान्छेले आएर काम गरे÷नगरेको नहेर्नु र भुक्तानी नदिनु दुःखद छ, हामी व्यवसायी पीडामा छौं ।”

ज्ञापन–पत्र बुझ्नुहुँदै पूर्वाधार विकास कार्यालय झापाका सिनियर इन्जिनियर ओमप्रकाश साहले आव २०८०÷०८१ मा कतिपय योजनाहरु समयमै ठेक्का लागे पनि भुक्तानी हुन नसकेको बताए । भुक्तानीका विषयमा सम्बन्धित मन्त्रालयलाई जानकारी रहेको बताउनुहुँदै कार्यालयबाट गर्नुपर्ने पहल गर्ने बताए ।
भुक्तानीका विषयमा निर्माण व्यवसायी संघ झापाले पटक–पटक पूर्वाधार विकास कार्यालय झापा, कोशी प्रदेश सरकारको भौतिक तथा पूर्वाधार मन्त्रालयल र मुख्यमन्त्रीको ध्यानाकर्षण गराइसकेको छ । आगामी वर्षको बजेट वक्तव्यमार्फत निर्माण व्यवसायीहरुको भुक्तानीको विषयलाई सम्बोधन गर्ने आश्वासन पाए पनि व्यवसायीले भुक्तानी नपाएको उनीहरुको भनाइ छ ।
कामको भुक्तानीका लागि अनुरोध गर्दै गत साउन ८ गते निर्माण व्यवसायी संघ झापाले मुख्यमन्त्री र भौतिक तथा पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईलाई समेत ज्ञापन पत्र बुझाइसकेको छ । व्यवसायीले पाउनुपर्ने भुक्तानी नपाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।–––