विराटनगर। बसको ठक्करले स्कुटरमा सवार दुई जनाको शनिबार दिउँसो मृत्यु भएको छ। इटहरी–धरान सडक खण्डको सुनसरी, इटहरी उपमहानगरपालिका–२० मा पर्ने पानीपिया क्षेत्रमा दुर्घटना भएको हो।

इटहरीबाट धरान गइरहेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का अन्दाजी २६ वर्षका सुजन विक र पछाडि बसेका २२ वर्षका सुरज विक गम्भीर घाइते भएका थिए ।

दुवैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा करिब साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

दुर्घटनाका बेला धरान गइरहेका विराटनगर–३ का एक प्रत्यक्षदर्शीका अनुसार ठक्कर दिएपछि बसले स्कुटरलाई करिब ५० मिटर परसम्म घिसारेको थियो।

बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।