बिर्तामोड : पढाई संगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको झापाको धुलाबारी स्थित इस्ट होराइजन अंग्रेजी माविले विश्वस्तरीय शिक्षा र व्यावसायिक सीप अभिवृद्धिमा जोड दिन चीनको एक कलेजसंग सहकार्य गरेर काम गर्ने भएको छ । आज स्कुलको सभाहलमा आयोजित पत्रकार भेटघाटमा चीनको फुजियान राज्यस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीसँग इस्ट होराइजनले भगिनी सम्बन्धको रुपमा सहकार्य गर्ने जानकारी दिइएको हो ।
चीनको विद्यालयसँग जोडिएर संयुक्त रूपमा पाठ्यक्रम निर्माण गर्ने प्रमुख उद्देश्य रहेको स्कुलले जनाएको छ । शिक्षक तथा प्राध्यापक क्षमता विकास, विद्यार्थी आदानप्रदान कार्यक्रम, उद्योग–अनुरूप व्यावसायिक तालिम लगायतका विषयमा दुई शैक्षिक प्रतिष्ठानबीच सहकार्य गरिने विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।

_1751853734.jpg)
त्यस्तै, कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले चियासम्बन्धी ज्ञानलाई स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यवस्थित रूपमा अध्ययन र अभ्यास गर्ने अवसर पाउने विद्यालयले जनाएको छ । विद्यार्थीको क्षमता अभिबृद्धिसंगै उनीहरुलाई अन्तराष्ट्यि स्तरको ज्ञान दिन पनि कार्यक्रम आयोजना गरिएको विद्यालयको प्रशासन प्रमुख सावित्री शर्माले जानकारी दिइन ।
उनले विद्यार्थीहरूले विभिन्न देशका परम्परा, संस्कार र चिया पिउने सांस्कृतिक दृष्टिकोण सहित विबिध कुराबारे अध्ययन गर्ने बताइन । चिया उत्पादनपछि हुने प्रोसेस सम्बन्धी अध्ययन, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन ब्रान्डिङ रणनीति, प्याकेजिङ डिजाइन र प्रचार–प्रसारको सीप विद्यार्थीले सिक्ने बताइएको छ ।

_1736908732.jpg)
स्थानीय चियाको बजार प्रवर्धन तथा प्रोत्साहन, विद्यार्थीहरूले आफ्नै देश वा क्षेत्रको चियालाई आकर्षक बनाउने र बजार विस्तार गर्ने विषयमा अभ्यास गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।
त्यस्तै, अन्तर्राष्ट्रियस्तरको ल्याब अध्ययन, गुणस्तर परीक्षण, स्वाद पहिचान, सुगन्धको वैज्ञानिक विश्लेषण, नयाँ प्रजाति विकास र आधुनिक परीक्षण उपकरणहरूको अनुभव लिनेछन् ।

कार्यक्रमअन्तर्गत नै दुई देशबीचका विद्यार्थीबीच संस्कार र संस्कृति आदानप्रदान हुने विश्वास लिइएको विद्यालयका शिक्षक महेश खड्काले जानकारी दिए । कार्यक्रमले प्राविधिक ज्ञानका साथै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने अवसर पनि प्रदान गर्ने खड्काले बताए ।
यसैबीच, विद्यालय आफैँले निर्माण गरेको तीजविशेष भिडियो पनि भोली बिहिबार स्कुलको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिने पत्रकार सम्मेलनमा स्कुलका नृत्य निर्देशक दिवस गिरीले जानकारी दिए ।
त्यस्तै, आपसी सद्भाव बढाउने उद्देश्यसाथ यही शुक्रबार तीजको अवसर पारेर विद्यालयका शिक्षिकाहरुबीच मैत्रीपूर्ण फुटबलको समेत आयोजना गरिएको विद्यालयले जनाएको छ ।