प्रणामी व्यवसाय संघ नेपाल जिल्ला कार्य समिति झापाले गायन रियालीटि सो भ्वाइस अफ किड्स सिजन ४ को फाइनलिस्टमा पुग्न सफल स्मयन बजगाई र सारेगम लिटल च्यामको फाइनलिस्टमा पुग्न सफल संस्कार सापकोटा लाई स्वागत सम्मान गरेको छ।

बजगाईं र सापकोटा दुवैजना झापाको बिर्तामोड ५ निवासी हुन्। उनीहरू दुवैजना बिर्तामोड पाँच स्थित न्युटन्स एजुकेसन एकेडेमीको कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्।
प्रणामी समुदायका यी दुई बालकहरूले आफ्नो प्रतिभालाई नेपालकै सबैभन्दा ठूलो रियालिटी शो मार्फत प्रस्तुतिहरु राखेको भन्दै प्रणामी व्यवसाय झापाले उनीहरुलाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेको हो।
समितिको प्रथम बैठकको अवसर पारेर आज बिर्तामोड २ स्थित चारपानेमा रहेको श्री कृष्ण प्रणामी मन्दिरको सभाहलमा एक कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरिएको हो।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सत्संग सेवा परिषद् झापाका अध्यक्ष विष्णु प्रसाई,प्रणामी व्यवसाय सङ्घ नेपाल जिल्ला कार्यसमिति झापाका अध्यक्ष टहलदास ओली ,श्रीकृष्ण प्रणामी मन्दिर चारपानेका अध्यक्ष राजेन्द्र कुमार बस्नेत लगायतले सम्मान गरेका हुन् ।








































