झापाको बिर्तामोडमा हुन लागेको तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुल्ला शरीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी भदौं २७ र २८ गते बिर्तामोडमा  शरीरिक सुगठन प्रतियोगिताको आयोजना गरिएको छ ।

आज (शनिवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरी तयारीको जानकारी दिदै प्रतियोगिताको ट्रफीसमेत सार्वजनिक गरिएको छ । 

पहिलो दिन अर्थात भदौं २७ गते प्रिजजिङ र दोस्रो दिन अर्थात भदौं २८ गते  फाइनल प्रतिस्पर्धा हुनेछ । जसमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुने कञ्चनजंघा खुल्ला शरीरिक सुगठन प्रतियोगिताका अध्यक्ष आदित्य पराजुलीले जानकारी गराए । 

उनका अनुसार विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुनेले नगद तीन लाख, तेस्रो हुनेले दुई लाख, चौथो हुनेले एक लाख रुपैयाँ पाउने छ भने पाँचौँ हुनेले नगद ७५ हजार र छैटौँ हुनेले नगद ५० हजार रुपैयाँ पाउनेछन् । हरेक तौल समूहका दोस्रो हुने खेलाडीले नगद सात हजार र तेस्रो हुने खेलाडीले नगद पाँच हजार रुपैयाँ पाउनेछन् । 

प्रतियोगितामा देशभरबाट एक सय जना खेलाडीहरूले सहभागिता जनाउने अध्यक्ष पराजुलीले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष आदित्य पराजुलीले बताए । प्रतियोगिताको आयोजना बडी ग्यारेज बिर्तामोडले गरेको हो । 

पत्रकार सम्मेलनमा प्रतियोगिताका सल्लाहकार टिकाराम ढकाल, भद्रपुर झापा गोल्डकपमा अध्यक्ष दिपेश ढकाल, अर्जुन मैनालीलगायतले सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सवैले सकेको सहयोग गर्न आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, प्रतियोगिताका संयोजक राम दाहाल, प्रतियोगिताका उपाध्यक्ष निर्मलराज खत्री, सदस्य दिपेन चौधरी, पदम श्रेष्ठलगायतको आतिथ्य रहेको थियो ।

प्रतियोगिताका सचिव सन्तोष उप्रेतीले स्वागत गरेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रमेश तिवारीले गरेका थिए । दोस्रो मिस्टर कञ्चनजंघा शरीरिक सुगठन प्रतियोगिताको उपाधि दिलिपकुमार चौधरीले जितेका थिए ।