झापा

 झापाको अर्जुनधारा नगरपालिका–८ स्थित रातो पुलमा आगलागि हुँदा रू ९० लाख बराबरको क्षति भएको छ । यहाँस्थित सन्तोष साहुको दुईतले पक्की घरको भुईँतलामा रहेको हार्डवेयर पसलमा शुक्रबार राति विद्युत सर्ट भई आगलागी हुँदा रू ९० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । 

आगलागीबाट पसलभित्र रहेका सिमेन्टका बोरा, टिनका बण्डल, कलर पेन्ट, पुटिङ सिमेन्ट, झ्याल–ढोका, भर्‍याङमा प्रयोग हुने अल्मुनियम, प्लाई लगायतका हार्डवेयर सामग्री जलेर नष्ट भएका छन् ।

आगलागी इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका तथा मेचीनगर नगरपालिकाका दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।