बिर्तामोड । यस वर्षको टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार पत्रकार चिरञ्जीवी घिमिरेलाई प्रदान गरिएको छ । हेम-सरिता फाउन्डेसनले स्थापना गरेको सो पुरस्कार यो वर्ष घिमिरेलाई प्रदान गरिएको हो । 
भ्रष्टाचारको अन्त्य र सुशासन प्रवर्द्धनको क्षेत्रमा कलम चलाउने पत्रकारहरु मध्ये प्रत्येक वर्ष एक जनालाई उक्त पुरस्कार प्रदान गरिँदै आएको छ ।

मङ्गलबार अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी ५० हजार ५५५ रुपैया राशीको सो पुरस्कार घिमिरेलाई प्रदान गरिएको हो ।

घिमिरे झापाबाट नयाँ पत्रिका दैनिकका लागि काम गर्दै आएका छन् ।
सोही कार्यक्रमका बीच गत वर्ष वितरण गर्न बाकी उक्त पुरस्कार संयुक्त रुपमा पत्रकार सुरेन्द्र भण्डारी र इन्दु पूर्वेली (गौतम)लाई प्रदान गरिएको छ ।

भण्डारी पूर्वाञ्चल दैनिकको सहसम्पादक हुन भने पूर्वेली जनआन्दोलन साप्ताहिककी सम्पादक हुन ।


पुरस्कृत व्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष

डा. कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरिलगायतले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।


त्यस्तै लैंगिक हिंसा विरुद्धको लेखनवृत्ती बापत पत्रकारद्वय ज्योस्ना श्रेष्ठ र रञ्जिता खड्कालाई जनही नगद ५ हजार रुपैया प्रदान गरिएको थियो ।


कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताको विषयमा महत्वपूर्ण जानकारी गराएका थिए ।


नेपाल पत्रकार महासंघ झापाको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, कोशी प्रदेशका अध्यक्ष भरत खडकालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

पुरस्कृत व्यक्तित्वको तर्फबाट चिरञ्जीवी घिमिरेले आफ्ना भनाई राखेका थिए ।


उपाध्यक्ष सुव्रत न्यौपानेले स्वागत गरेको कार्यक्रम सचिव राजु पाठकले सञ्चालन गरेका थिए ।