काठमाडौं । जेन जी आन्दोलनका क्रममा तिब्बतीयन ओरिजनल ब्लड टीओबी उल्लेखित ज्याकेटसहित प्रदर्शनमा सहभागी तेन्जिङ दावा ५ लाख २० हजार धरौटीमा रिहा भएका छन् ।
प्रहरीद्वारा विभिन्न तीन अभियोग सहित काठमाडौं जिल्ला अदालतमा पेश गरिएका दावालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
तेन्जिनविरुद्ध अभद्र व्यवहार गर्न नहुने, लिखतसम्बन्धी र नागरिकता तथा राहदानीसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो । प्रहरीले उनीबाट गाँजा पनि बरामद गरेको थियोे । टीओबीसँग सम्बन्धित १३ वटा बुलेट र पल्सर मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।
भदौ २३ गते १२ बजेको समयमा बिजुलीबजार पुगेर बाइक पड्काउदै नारा जुलुस गर्नुका साथै दावा सम्मिलित समूहले भीडलाई उत्तेजित गर्ने काम गरेको प्रहरीले जनाएको छ ।
आफूलाई आधा तिब्बेतियन भएको कुरा प्रहरीलाई भनेको र सो समूहमा तेन्जिन बाहेक अरु सबैं सदस्य नेपाली मूलको भएको खुलेको प्रहरीको भनाइ छ । हिरासतमा रहेका तेन्जिनले आफूले भीडमा गएर उत्तेजित गर्ने काम गरेर गल्ती गरेको प्रहरीलाई बताएका थिए ।










































