बिर्तामोड । झापाको बिर्तामोडमा ईपिएस मार्फत कोरियामा रोजगार गरेर स्वदेश फर्किएका व्यक्तिहरुका लागी  पुनः एकीकरण कार्यक्रम सम्पन्न भएको छ । अंकुर नेपालले  कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय कोइका अन्तर्गत के– हामी, ह्याप्पी माइग्रेशन परियोजनाको सहयोगमा झापा जिल्लाबाट ईपिएस मार्फत

कोरियामा रोजगार गरेर स्वदेश फर्किएका व्यक्तिहरुलाई सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराई उद्यमशीलता, उत्पादन , रोजगारमा जोडी कोरिया रिटर्नीहरुलाई पुन ःएकीकरण र दिगो अबसर प्राप्त गर्ने उद्धेश्यले बिर्तामोडमा ईपिएस मार्फत कोरियामा रोजगार गरेर स्वदेश फर्किएका व्यक्तिहरुका लागी  पुनः एकीकरण कार्यक्रम आयोजना गरिएको हो । 

अंकुर नेपालका पूर्व उपाध्यक्ष तथा के – हामी, ह्याप्पी माइग्रेशन परियोजनाका झापा म्यानेजर सञ्जीव चापागाईंको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अंकुर नेपालका केन्द्रीय उपाध्यक्ष विदुरराज उप्रेतीले स्वागत गरेका थिए । कार्यक्रममा प्रशिक्षक कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका पूर्व सचिव डा। लेखराज दाहालले सहभागीहरुलाई कोरियामा सिकेको सीप उत्पादनमुलक कार्यमा प्रयोग गर्न आग्रह गरेका थिए ।

उनले उद्योग, कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्न सहभागीलाई आग्रह गरे । उनले कोरियाबाट फर्केर आएकालाई कसरी उद्यमी, व्यवसायी बन्न सकिन्छ, व्यवसाय गर्न सम्भावना के के रहन्छ भन्ने बारेमा समेत जानकारी गराएका थिए । 

 कार्यक्रममा अंकुर नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश सुवेदीले दक्षिण कोरियामा विभिन्न पेशा व्यवसायमा संलग्न भई नेपाल फर्किएर स्वदेशमै बस्न चाहने नेपालीहरुलाई एकताबद्ध गर्दै एक आपसमा व्यवसायिक सहयोग आदनप्रदान लगायत समुन्नत राष्ट्र निर्माणमा एकल वा सामुहिक लगानी तथा नवप्रवर्तनमा टेवा पुर्याइ कोरिया रिटर्नीहरुलाई सामाजिक, व्यवसायिक तथा आर्थिक रुपमा नेपालमै पुनःस्थापित हुन सहयोग पुर्याउने उद्देश्यले अंकुर नेपालको स्थापना गरिएको बताए ।

कार्यक्रममा अंकुर नेपालका पूर्व उपाध्यक्ष   तथा के – हामी, ह्याप्पी माइग्रेशन परियोजनाका झापा म्यानेजर सञ्जीव चापागाईले ईपिएस मार्फत कोरियामा रोजगार गरेर स्वदेश फर्किएका नेपाली युवामार्फत गणतन्त्र कोरियामा आर्जित सिप र पुँजीलाई उचित व्यवस्थापन तथा लगानीमार्फत स्वदेशमै रोजगारीको खोजी गर्दै फर्किएका युवालाई व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्ने काम अंकुर नेपालले गरेको जनाए ।

कोरियाली रोजगारी नेपालका लागि अत्यन्त महत्त्वपूर्ण वैदेशिक रोजगारीको विकल्प भएको बताउँदै उनले अहिलेसम्म अंकुर नेपालले रोजगार अनुमति प्रणाली इपिएसलगायतका कोरियाली रोजगारीबाट सुरक्षित स्वदेश फिर्ता भएका तथा पुनस्र्थापनाको क्षेत्रमा काम गरेको  जनाए । कोरियाबाट फर्किएकालाई सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराई उद्यमशीलताको लागि अनुकूल वातावरण निर्माण गर्न  सहुलियत ब्याजदरमा ऋण उपलव्ध गराएर उद्यमी बनाउन आफूहरु लागीपरेको उनले बताए ।

कार्यक्रममा के– हामी प्रोजेक्ट म्यानेजर सङयलसले के– हामी प्रोजेक्टले कोरियामा श्रम, सीप र योगदान गरेका नेपाली श्रमिकलाई स्वदेश फर्किएपछि सम्मानजनक पुनःएकीकरण र दिगो अवसर प्राप्त गर्न मद्दत गर्ने बताए।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव हुमनाथ पराजुलीले सरकारले कोरियाबाट फर्केका कामदारको वास्तविक अवस्था पत्ता लगाई उनीहरूलाई रोजगारका कार्यक्रम सञ्चालन गर्न के गर्न सकिन्छ भनेर लागीपरेको बताए ।

नेपालमै स्वरोजगारमूलक काम गर्न सरकारले उनीहरुलाई सहुलियत ऋण तथा सीप विकासको तालिम उपलव्ध गराउन आफू प्रयत्नशील रहेको उनको भनाई छ ।  कार्यक्रममा रेमी परियोजनाकी कार्यक्रम अधिकृत रीता विश्वासले कोरियाबाट फर्केकाका लागि नेपालमा   स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नै बताइन् । कार्यक्रमको सञ्चालन अंकुर नेपालका झापा संयोजक  राम पौड्यालले गरेका थिए ।