झापाको बिर्तामोडमा अवस्थित गोमेन्द्र बिर्ता मोडल स्कुलले तारा नमस्ते बाल ग्रामका बालबालिकाहरुलाई सहयोग गरेको छ । विद्यालयमा रहेको जिबिएम राइजिङ्ग बाल क्लबले १० हजार बराबरको स्टेसनरी सामग्री र ट्रायकसुट कपडा प्रदान गरेको हो ।

स्टेसनरी सामग्री अन्तरगत १३० थान भन्दा बढी कपी, जेलपेन १५ प्याकेट, सर्पनर दुई प्याकेट, इलेजर दुई प्याकेट र पेन्सिल १० दर्जन तथा फलफूल र २८ थान सुट कपडा प्रदान गरेको संस्थापक उत्तम खनालले जानकारी दिए ।

उक्त अवसरमा विद्यालयका प्रिन्सिपल गीता ढकाल, बाल क्लब फोकल पर्सन सिएम खरेल, बाल क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

बाल क्लब अध्यक्ष रिचा प्रसाईंले बाल क्लबको महत्व, उद्देश्य र सहयोग गर्न पाउँदाको अनुभव समेटेको मन्तव्य राखेको कार्यक्रममा बालग्राम सञ्चालक यसोदा चपागाईंले स्वागत र धन्यवाद व्यक्त गरेकी थिइन् ।