सुरुङ्गा ।
इलाका प्रहरी कार्यालय सुरुङ्गालाई कनकाई नगरपालिकाले सवारी साधन उपलब्ध गराएको छ । आज आइतवार नगरपालिकाले एक संक्षिप्त कार्यक्रमका बिच इप्रकालाई सवारी साधन हस्तान्तरण गरेको हो । गत भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा इप्रका कार्यालयमा भएको तोडफोड र आगजनीमा प्रहरीको सवारी साधन जलेर नष्ट भएको थियो ।
सवारी साधन नहुँदा प्रहरीलाई दैनिक कार्य सम्पादनमा समस्या परेको भन्दै नगरले आज उपमेयर आशा शर्मा शिवाकोटीले प्रयोग गर्दै आएको मे १ झ १२२ नम्बरको गाडी प्रहरीको कार्य सम्पादनमा सहजताका लागि दिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । उनले नगरपालिकाको यस बर्षको आठौं कार्यपालिका वैठकको निर्णय अनुसार सवारी साधान दिएको बताए ।
यस अघि पनि प्रहरीलाई सवारी साधन नगरले दिएको र आवश्यक इन्धन उपलब्ध गराउँदै आएको थियो । तर जेनजी आन्दोलनका क्रममा सवारी जलेर नष्ट भएपछि पुनः यो सवारी दिएको बताए । नगर प्रमुख पोखरेलले नगरका भौतिक संरचना र सवारी साधन सवैको सम्पत्ती भएकाले त्यसलाई संरक्षण गर्नसमेत सवैमा आग्रह गरेका छन् ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सहि सुवास ढुङ्गानाले आफुले कार्य सम्पादन गरिरहेको बताउँदै प्रहरीको समस्या बुझेर नगरले सवारी साधन उपलब्ध गराएको भन्दै नगरपालिकालाई धन्यवाद दिएका छन् ।
सवारीको चावी नगर प्रमुख पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सहि सुवास ढुङ्गानालाई हस्तान्तरण गरेका थिए ।








































