बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ स्थित श्री गायत्री माता मन्दिरको प्रथम वार्षिक उत्सव माघ ९ गते मनाइने भएको छ । मन्दिर परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्दिर स्थापनाको एक वर्ष पूरा भएको अवसरमा माघ ९ गते दातालाई सम्मानसहित विशेष कार्यक्रम गरी वार्षिक उत्सव मनाउन लागिएको मन्दिरका सल्लाहकार संयोजक भेषराज भण्डारी प्रशान्तले जनाकारी दिए ।
मन्दिर निर्माणका क्रममा सहयोग गर्ने ७५ जना दातालाई सम्मान गरिने उनले बताए । त्यस्तै, विशेष पूजा तथा अनुष्ठान, धार्मिक प्रवचन एवम् सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने उनले जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी, गुञ्जन दाहालसहितको टोलीले साँझ ६ बजेदेखि संगीतमय भजन प्रस्तुत गर्ने छन् भने भव्य शृङ्गारसहित महाप्रसाद वितरण गरिनेछ ।
पूर्वमै पहिलो पटक करिब अढाई करोड रुपैयाँको लागतमा निर्माण गरिएको यस मन्दिर स्थापनाको पहिलो वर्षमै दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रौनक वंशलले जानकारी दिए ।
गायत्री मन्दिरको आवश्यकतालाई महसुस गर्दै सबैको सहयोगमा २०८० साल जेठ १७ गतेदेखि निर्माण प्रारम्भ गरी २०८१ साल माघ २१ गते विधिपूर्वक माताको प्राण–प्रतिष्ठा गर्दै मन्दिर सञ्चालनमा आएको उनको भनाई छ । वार्षिक उत्सव कार्यक्रममा सहभागी हुन सबै धर्मानुरागी महानुभावलाई उनले आग्रह गरे ।
यहाँ दैनिक पूजा–पाठका साथै नियमित विशेष अनुष्ठानहरू आयोजना हुँदै आएको छ भने भक्तजनको समेत उल्लेख्य सहभागिता रहँदै आएको छ ।
पत्रकार सम्मेलनमा मन्दिरका सल्लाहकार बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला, अग्रसेन भवनका अध्यक्ष रमेश अग्रवाल, मारवाडी सेवा समितिका अध्यक्ष विजय गोयल लगायतको आतिथ्य रहेको थियो ।
प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न गर्न होटल द किङ्ग्सबरी, कजरिया, पशुपति पेन्टस, वास्तु बिहार, जक्वार, ओपी इन्टरनेशनल, हलोनिक्स, डाल्मिया पानी, वल्र्ड लिंक, एनके नेपाल ट्रेड एण्ड सप्लायर्स, बिर्तामोड नगर स्काउट, नेपाल आमा बचाऔं लगायतका व्यावासयिक तथा सामाजिक संघ–संस्थाले सहयोग गरेको छ ।
मन्दिरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राण प्रतिष्ठा गरेका थिए भने तत्कालीन सभामुख देवराज घिमिरेले पाँचदिने अनुष्ठानको उद्घाटन गरेका थिए । सो अवसरमा जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनसमेत आयोजना गरिएको थियो ।
मन्दिर निर्माण सम्पन्नसँगै संरक्षकसहित ३१ सदस्यीय व्यवस्थापन समिति र ३१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । मन्दिर निर्माण समितिका संयोजक रौनक बंशलको अध्यक्षतामा गठन भएको व्यवस्थापन समितिमा विवेक अग्रवाल संयोजक, सुजित अग्रवाल सह–संयोजक, मनोज वजाज सचिव र राजेश अग्रवाल कोषाध्यक्ष रहेका छन् ।
मन्दिर व्यवस्थापन समितिले गायत्री माताप्रतिको आस्था र जनविश्वासलाई अझ मजबुत बनाउँदै धार्मिक पर्यटन प्रवर्धनमा समेत योगदान पु¥याउने लक्ष्य लिएको जनाएको छ ।








































