झापा : झापाको शिवसताक्षी नगरपालिका–६ जामबारीस्थित झिलझिले–कुञ्जिबारी सडक खण्डमा आज साँझ ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मे १ त ७५६३ नम्बरको ट्याक्टर बिष्णु चोकबाट जनता चोकतर्फ जाँदै गर्दा सहचालक २२ वर्षीय नारायण राजवंशी अचानक ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । तर, साँझ ६ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि ट्याक्टर चालक ३० वर्षीय नितेस घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर इलाका प्रहरी कार्यालय शिवगञ्जको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








































