झापा : डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल( डिन) झापाको कार्यालय भवन उद्घाटन भएको छ । बिर्तामोड – ६ बुट्टावारीमा आज एक कार्यक्रमका बीच डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल( डिन) का केन्द्रीय अध्यक्ष कामेश्वर सिंह र जग्गादाता गोपिकृष्ण प्रसाईले डिन झापाको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
स्वर्गीय पिता जयन्द्र र स्वर्गीय माता धनमाया प्रसाईको स्मृतिमा छोरा बुहारी गोपिकृष्ण र टिकादेवी प्रसाईले २०७१ साल फागुन ३ गते एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । सो जग्गामा कोशी प्रदेश सरकारको १ करोड ८ लाखको बजेटमा आठ कोठे भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७९–०८० मा ५० लाख र ०८१–०८२ मा ५८ लाख बजेट निकासा भएपछि शहरी विकास तथा भवन डिभिजन कार्यालयले ठेक्का लगाएर भवन निर्माण गरिदिएको डिन झापाका अध्यक्ष सडकलाल राजवंशीले बताए ।
कोशी प्रदेशमा सुनसरीपछि डिन झापाले आफ्नै कार्यालय भवन बनाएको अध्यक्ष राजवंशीले जानकारी दिए । काठमाण्डौमा केन्द्रीय कार्यालय र त्यसपछि झापा , सुनसरी र दाङमा मात्र जिल्ला शाखाहरुको आफ्नै कार्यालय भवन रहेको केन्द्रीय अध्यक्ष सिंहले बताए । डिन झापाका अध्यक्ष राजवंशीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सिंहको प्रमुख आतिथ्यमा भएको भवन उद्घाटन कार्यक्रममा बोल्दै बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले प्रसाई परिवारले नै बिर्तामोड ६ को वडा कार्यालयलाई ३ कठ्ठा जग्गा दान दिएको भन्दै प्रशंसा गरे ।
डिनका कोशी प्रदेश उपाध्यक्ष नारायण भट्टराईले धेरै लामो प्रयासपछि जग्गासंगै कार्यालय भवन निर्माण गर्न सफल भएको बताए । उनले एकै शव्दमा जग्गा दान दिने प्रसाई परिवारप्रति आभार व्यक्त गरे ।
जग्गादाता प्रसाईले आफूले दिएको जग्गालाई सदुपयोग गरिदिएकोमा धन्यवाद दिए । जग्गादाता प्रसाईलाई सम्मान गरिएको सो कार्यक्रमको संचालन डिनका कोशी प्रदेश महासचिव कमल दाहालले गरेका थिए ।






































