बिर्तामोड । राष्ट्रियसभाको निर्वाचनमा कोशीबाट दलित तर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल र महिला तर्फ रोशनी मेचे निर्वाचित भएका छन् ।

पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गरेका छन् । पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गरे । सुन्दासले २ हजार २७ मत पाए । कोशी प्रदेशबाट राष्ट्रियसभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

पोर्तेल २०३५ साल फागुनमा पाँचथरमा जन्मिएका हुन् । उनी झापाको बिर्तामोडमा बस्दै आएका छन् ।  पोर्तेल एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ को केन्द्रीय उप–महासचिव हुन् । जिल्ला समन्यव समिति झापाका पूर्व प्रमुख हुन् । यस्तै, राष्ट्रिय सभाको निर्वाचनमा महिलातर्फ एमालेकी उम्मेदवार रोशनी मेचे विजयी भएकी छन् ।

उनले ७ हजार १ सय ७३ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपाने २ हजार २ सय ६८ मत पाइन् । अल्पसंख्क मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी छिन् ।

२०३८ साल भदौ ८ गते जन्मिएकी रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुन् । अल्पसंख्यक मेचे समुदायको सशक्त आवाजको रूपमा चिनिने उनी विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छिन् ।

उनी हाल एमालेको भ्रातृ संगठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासंघ’ को केन्द्रीय सदस्यको रूपमा कार्यरत छिन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका ४–४ र स्वतन्त्र २ जना रहेका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपाका १ सांसद मतदाता थिए । प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपाका ३, एमालेका २, श्रम संस्कृति पार्टीका एक र भ्रष्टाचार मुद्दाका कारण झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा परेका कारण मतदाता सूचीबाट नाम हटाइएको थियो । राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेले ७ वटै प्रदेशमा गठबन्धन गरेको थियो ।