झापाको बिर्तामोड–५ स्थित न्युटन्स एजुकेशन एकेडेमीले स्वर्गीय हरिकुमार प्रसाईको स्मृतिमा साहित्य लेखन कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।
विद्यालयको सभाहलमा आज एक कार्यक्रमका बिच कार्यशाला गोष्ठी सम्पन्न गरेकाे हाे ।
विद्यालयका निर्देशक आशिष प्रसाईको अध्यक्षता तथा साहित्यकार तथा गजलकार केशव आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएकाे हाे ।

साहित्य लेखन कार्यशाला गोष्ठीमा संस्थागत तथा सामुदायिक विद्यालयका गरी १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।
दुई चरणमा सञ्चालन गरिएको कार्यक्रमको उद्घाटन सत्र विद्यालयकी शिक्षिका पवित्र पौडेलले सञ्चालन गरेकी थिईन । दोस्रो चरण लेखक तथा पठन संस्कृति वर्ष २०२६ का संयोजक तीर्थ सिग्देलले सञ्चालन गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले साहित्य लेखन कार्यशाला गोष्ठीले विद्यार्थीहरूलाई सृजनशील बनाउने र अतिरिक्त लेखन क्षमतामा निखरता ल्याउन महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले स्व. हरिकुमार प्रसाईले शिक्षाको क्षेत्रमा गरेकाे याेगदानकाे सदैब स्मरण गर्दै उहाँले देखमएकाे मार्गमा हिँड्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रमलाई सफल बनाउन पठन संस्कृति वर्ष २०२६ अभियानले सहकार्य गरेको थियो।
पठन संस्कृतिका सह संयोजक तथा लेखक केशव मैनालीले पठन संस्कारको विकास गर्ने उद्देश्यअनुरूप वर्षभरि निजी तथा सामुदायिक विद्यालयसहित सार्वजनिक स्थानहरूमा पठन संस्कृतिसँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरिँदै लैजाने धारणा राखे ।
कार्यक्रममा साहित्यकार तुलसीप्रसाद भट्टराई, जानुका धिमाल, गजलकार तथा वरिष्ठ साहित्यकार केशव आचार्य, गजलकार तथा सञ्चारकर्मी लीला अनमोल, खगेन्द्रा खुसी लगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
निबन्ध लेखन सम्बन्धी कार्यशाला लेखक तथा पत्रकार तीर्थ सिग्देलले , कविता तथा गजल लेखन सम्बन्धी कार्यशाला गजलकार तथा सञ्चारकर्मी लीला अनमोलले सहजीकरण गरेका थिए ।
कार्यक्रममा शैक्षिक संघ–संस्थाका प्रतिनिधि, साहित्यकार, गजलकार तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबाट प्रतिनिधित्व गर्दै सहभागी विद्यार्थीहरूले साहित्य लेखन कार्यशाला गोष्ठी अत्यन्तै फलदायी र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्।







































