झापा
झापामा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै सुचारु गरिएको छ । भुमीसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले हेर्ने जिल्लाको १० वटा स्थानीयतह मध्ये कनकाई, अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट मालपोतसम्बन्धी प्रारम्भिक सेवा सुरु गरेको जनाएको हो ।
अब छिट्टै यी सहित ८ वटा पालिकामा सेवा विस्तार गरिने भूमिसुधार तथा मालपोत कार्यालय झापाले जनाएको छ । जग्गा धनी, ऋणि , रोक्का गर्ने निकायको उपस्थितिलाई मालपोत सम्मै आएर गर्नु पर्ने बाध्यतको अन्त्यकोलागि माघको दोस्रो हप्ताबाट स्थानीयतहबाटै मालपोत सम्बन्धी सेवा सुरु गरिएको भुमीसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाका सुचना अधिकारी मोहनसिंह दर्जीले जानकारी दिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यो अभ्यास स्थानीय सरकारको अधिकार कार्यान्वयनतर्फको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेको छ । यस सेवाबाट सेवाग्राहीलाई सहजता हुने, समय र खर्चको बचत हुनुका साथै मालपोत सेवामा देखिँदै आएको समस्यामा कमी आउने विश्वास व्यक्त गरिएको छ ।
यो पहललाई संविधान २०७२ ले सुनिश्चित गरेको स्थानीय तहको अधिकार व्यवहारमा उतार्ने ऐतिहासिक कदमका रूपमा हेरिएको छ । यसले सेवा प्रवाहमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।









































